२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अफगानिस्तानमा नेपाली नागरिक संकटमा पर्दा परमादेश सरकार कहाँ छ ? जनता जान्न चाहन्छन्

३२ साउन, काठमाडाैँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकार उदासिन देखिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘अफगानिस्तानमा २० वर्षपछि इतिहास दोहोरिएको छ । दुनियाँ चकित छ, त्रसित छ, किंकर्तव्यविमूढ छ, विदेशी नागरिकहरु, त्यहाँ रहेका नेपालीहरु त्रस्त छन् ।’ उनले ‘परमादेश सरकार’ दुनियाँ भर मादल बज्दा पनि नब्यूँझिएको आरोप लगाए । ‘संकटमा परेका नेपालीले आफ्नो देश छ, आफ्नो देशमा सरकार छ भन्ने त्यहाँ रहेका नेपालीले थाहा पाएनन्,’ उनले भने, ‘अफगानिस्तानमा रहेका नागरिकको रक्षा हुनुपर्छ, तिनको फिर्तीको व्यवस्था हुनुपर्छ ।’

उनले अफगानिस्तानको घटना के हो भन्नेबारे सरकारले धारणा ल्याउनुपर्ने पनि बताए । ‘अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति हो कि के हो ?’ उनले भने, ‘हाम्रो कुनै दृष्टिकोण छैन ?’ उनले यसबारे सरकारले दृष्टिकोण प्रस्ट पारोस् भन्दै रुलिङको माग समेत गरे । उनले भने, ‘सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् ।’

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १४:०१