२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री केसी

३१ साउन, रुपन्देही । लुबिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी थालेका छन् । साउन २८ गते  मुख्यमन्त्रीमा नियुक्त भएका केसीले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिएर मन्त्रिमण्डल बिस्तार र गठबन्धन सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने सरकारले तयारी गरेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका  छन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

शंकर पोखरेलले साउन २७ गते  मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार १३:१६