२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमसीसी सम्झौता राष्ट्रघाती छ, खारेज गरौँः निरु पाल

२९ साउन, काठमाडाैँ । नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हित विपरीत भएकाले खारेज गर्न माग गरेकी छन्। उनले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएकी हुन्।

उनले भनिन्, ‘देशभन्दा माथि कोही हुँदैन। पूर्ववर्ती ओली सरकारले संविधान संशोधन गरी भारतले मिचेको भूमि समेटेर नक्सा जारी गरेको थियो’ । ‘उक्त भूमि फर्काउन पो राष्ट्रिय सहमति चाहिने हो। तर यहाँ त एमसिसी पास गर्न राष्ट्रिय सहमति खोजिँदैछ।’

एमसीसीजस्तो राष्ट्रघाती परियोजनालाई राष्ट्रिय सहमति नभइ सिधै खारेज गर्नुपर्ने उनले बताइन्। ‘एमसिसीसँगको कानुन नेपालको संविधानमा बाझिएमा नेपालको कानुन पो लागु पर्ने हो’, उनले भनिन्, ‘तर यहाँ त उल्टो भयो। दुवै कानुन बाझिएमा एमसिसीको कानुन लागु हुने भनिएको छ।’

यदि एमसीसी पारित भएमा नेपाल सरकारले त्यसबारे कुनै जानकारी लिनपुरे अमेरिकासँगै सोध्नुपर्ने बाध्यात्मक प्रावधानलाई उनले राष्ट्रघाती भनेकी छन्।

‘कानुनी रुपमा हस्तान्तरण भएमा कुनै जानकारीका लागि एमसीसीकै अनुमति चाहिने भनिएको छ, यस हिसाबले यो नेपालको हितमा छैन’, उनले भनिन्, ‘विकासका नाममा बाह्य हस्तक्षेप कुनै हालतमा स्वीकार्य छैन। एमसिसी खारेज गर्नु नै नेपालको हितमा छ।’

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १४:२५