१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राष्ट्र बैंकको अध्ययन निष्कर्षः माघसम्म मुद्रास्फिति १० प्रतिशतसम्म पुग्नसक्छ

३ साउन, काठमाडाैँ । आगामी माघसम्म मुद्रास्फीति १० प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मुद्रास्फिति अपेक्षा सर्वेक्षणअनुसार मुद्रास्फितिको दरमा वृद्धि हुने उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) अनुसार केन्द्रीय बैंकलाई निर्दिष्ट गरेका उद्देश्यमध्ये मूल्य स्थिरता कायम राख्नु पनि एक रहेको उल्लेख गर्दै बैंकले मुद्रास्फीति दरलाई प्राथमिकतामा राखेर मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आएको जनाएको छ ।

मौद्रिक तथा गैरमौद्रिक तत्वबाहेक उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षाले पनि मुद्रास्फीतिलाई प्रभाव पार्ने बैंकको भनाइ छ । आम उपभोक्ताले गर्ने मुद्रास्फीतिसम्बन्धी अपेक्षालाई भविष्यमा हुनसक्ने वास्तविक मुद्रास्फीतिको एक प्रमुख सूचकका रुपमा लिइने तथ्य पेश गर्दै राष्ट्र बैंकले विश्वका धेरै जस्ता केन्द्रीय बैंकले मुद्रास्फीति प्रक्षेपण र मौद्रिक नीतिको कार्यदिशा तय गर्दा उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षालाई पनि एक आधारका रुपमा लिने गरेको बताएको छ ।

सहरी क्षेत्रका उपभोक्तामा मात्र गरिएको यस सर्वेक्षणको दायरालाई क्रमशः विस्तार गर्दै भविष्यमा क्रमशः ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक बिक्रेता, उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाई समेट्ने योजना रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सर्वेक्षणमा सातै प्रदेशका प्रमुख शहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट उनीहरुको मुद्रास्फीतिसम्बन्धी अपेक्षा सङ्कलन गरिएको छ । सर्वेक्षणअनुसार आगामी एक वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको सङ्ख्या ९४ प्रतिशत छ ।

प्रकाशित मिति : July 18, 2021 at 8:39 pm