२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गच्छदारको भ्रष्टाचार मुद्दाको साइडइफेक्टः विशेष अदालतका अध्यक्षको ८ महिनामै सरूवा

३ साउन, काठमाडौँ । भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको ८ महिनामै काज सरूवा भएको छ । बालुवाटारको सरकारी जग्गा दुरूपयोग गर्नेमा नीतिगत निर्णयका लागि सेतु बनेका तत्कालीन भौतिक पूर्वाधार मन्त्री नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको मुद्दामा गलत निर्णय लिएको भन्दै अध्यक्ष कार्कीको काज सरूवा भएको बुझिएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा अध्यक्ष कार्कीले डेढ वर्षदेखि फरार रहेका गच्छदारलाइ अदालतमा हाजिर हुनेवित्तिकै प्रकिया पुर्याएर १० लाख धरौटीमा रिहा गरेका थिए । कार्कीको उक्त निर्णयमा सर्वोच्च अदालतको नेतृत्वले असन्तुष्टि जनाएको बुझिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा समेत कार्कीप्रति असन्तुष्ट बनेका थिए । सोही निर्णयमा सहभागी तत्कालीन सचिव एवं अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाइ भने विशेषले थुनामा पठाउने आदेश दिएको थियो ।

कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रूपमा काजमा सरूवा गरिएको छ । उनी काज सरूवा भएको स्थानमा केही दिनमा जाने तयारीमा छन ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार ०८:५६