प्रधानमन्त्री पत्नीको अनुरोधपछि पैसा तिर्न नसकेर अस्पतामै रहेकी बेगम शिशुसहित घरमा
२६ असार, धनुषा । जनकपुरधामस्थित आर्या केयर अस्पतालले सुत्केरी बेगम खातुनको सम्पुर्ण उपचार खर्च निशूल्क गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धन बनेको समाचार पढेपछि सुत्केरी महिलाको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारीसहित घर पठाउन आग्रह गर्नुभएपछि अस्पतालले नै खातुनको उपचार खर्च बेहोरेको हो ।
धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन अस्पतालको शुल्क तिर्न नसकी घर जान नपाएको समाचार प्रकाशन भएपछि प्रधानमन्त्री पत्नी शाक्यले चासो लिनुभएको थियो । अस्पतालले प्रधानमन्त्री पत्नी शाक्यको चासोपछि मात्रै सुत्केरी महिला खर्च बेहोर्न सक्ने अवस्थामा नरहेको जानकारी पाएको र सोही आधारमा निशुल्क उपचार गरेको जनाएको छ ।
‘हामीले बन्धक बनाएका होइनौं, बिरामीका कसैले पनि खर्च तिर्न नसक्ने भनेर जानकारी गराएनन, एकैपटक प्रधानमन्त्रीज्यूको पत्नीले उपचार खर्च म बेहोर्छु भनेर जानकारी दिएपछि हामीले बिरामीको अवस्थाबारे बुझ्यौं, साँच्चीकै बिपन्न रहेको पाएपछि अस्पतालले निशुल्क उपचार गरेको हो,’ अस्पतालका प्रशासन प्रमुख उज्वल झाले भन्नुभयो ।
प्रमुख झाका अुसार प्रधानमन्त्री पत्नी शाक्यको सोधनीपछि अस्पतालले बिरामीको कमजोर आर्थिक अवस्थाबारे जानकारी पाएको हो । समाचार सुन्नसाथ प्रधानमन्त्रीपत्नी शाक्यले अस्पताल प्रशासनसँग सम्पर्क गरी आफूले सवै खर्च बेहोर्ने बताउनु भएको थियो । सुत्केरी खातुन बिहीवार नै डिष्चार्ज हुनुभएको प्रशासन प्रमुख झाले जानकारी दिनुभयो ।
हामीले बन्धक बनाएका होइनौं, बिरामीका कसैले पनि खर्च तिर्न नसक्ने भनेर जानकारी गराएनन, एकैपटक प्रधानमन्त्रीज्यूको पत्नीले उपचार खर्च म बेहोर्छु भनेर जानकारी दिएपछि हामीले बिरामीको अवस्थाबारे बुझ्यौं, साँच्चीकै बिपन्न रहेको पाएपछि अस्पतालले निशुल्क उपचार गरेको हो
सुत्केरी खातुन र उहाँका पति मोहम्मद समीर नदाफले पनि आफूहरुलाई अस्पतालले उपचार खर्च नलिएको बताउनु भएको छ । अस्पतालले माथिबाट उपचार खर्च तिर्न नसकी अस्पतालमा बन्धक बनेको भनेर सोधीखोजी भएको जानकारी गराउँदै उपचार खर्च नलिएको खातुन दम्पत्तिले बताउनु भएको हो । खातुनले शल्यक्रियाबाट एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिनुभएको छ । उहाँको उपचार खर्च एक लाख १० हजार रुपैया पुगेको थियो । प्रधानमन्त्री पत्नी शाक्यको चासो र खर्च बेहोर्ने जानकारीपछि अस्पतालले नै बेहोरेको हो ।
प्रकाशित मिति : July 10, 2021 at 6:53 pm





