१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

२५ असार, काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । संस्थाले यस संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएर सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्य दरको ३ लाख ९५ हजार ३ सय ३५ दशमलव ९७०४ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।

आईपीओ निष्काशन गर्न संस्थाले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको हो ।

एक्विजिशनपश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : July 9, 2021 at 11:55 am