२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

बाढीले नवलपुर हुप्सेकोटका १५० घर डुबानमा

२४ असार, नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् ।

वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँतलामा पानी पसे पनि धेरै क्षति हुन भने नपाएको हुप्सेकोट–३ का वड़ाध्यक्ष छविलाल मिथुनले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर नं ३ बेलहानी र गिरुबारीबीच भागबाट गिरूवारी खोला पसेको छ । विसं २०५७ मा जापान सरकार र नेपाल सरकारको प्रयासमा जाइकाले निर्माण गरेको तटबन्ध नै पार गरेर खोला गिरुबारीको बस्ती तथा खेतमा पसेको हो । खेतमा बाढी पसेपछि करीब २० बिघा क्षेत्रफलमा लगाइएको धान नष्ट भएको जनाइएको छ ।

त्यहाँ करीब १०० बिघाको खेती प्रभावित बनेको स्थानीयवासी विश्वराज लामिछानेले बताउनुभयो । यो तटबन्धलाई तत्काल व्यवस्थित गर्न नसकिए थप क्षति व्यहोर्नुपर्ने उहाँ भनाइ छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले नवलरासीको पूर्वी क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

विभागले आज नागरिकको मोबाइलमा सन्देश पठाउँदै थप वर्षा हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । पछिल्लो १२ घण्टामा यसक्षेत्रमा १६७.८ मिलिमिटरसम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा गिरुवारी क्षेत्रमा १२७.४ मिलिमिटर तथा जिल्लाको पहाडी क्षेत्र डेढगाउँमा १६७.८ मिलिमिटर वर्षा भएको छ । यस क्षेत्रमा अहिले पनि पानी परिरहेकाले विनयी खोला, आरुणखोला, गिरुबारी खोला, केरुङ्गे खोला, बौलाहा खोलालगायत यस क्षेत्रका स–साना खोलामा आकस्मिक रुपमा थप बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ । मनसुन शुरु भएपछि हरेक वर्ष यस क्षेत्रमा बाढी तथा पहिरोले दुःख दिने गरेको छ ।

प्रकाशित मिति : July 8, 2021 at 4:15 pm