६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

समृद्धि फाइनान्सकाे हकप्रद सेयर पुनः लिलाम बिक्रीमा


२२ असार, काठमाडाैँ । समृद्धि फाइनान्स लिमिटेडले असार २९ गतेदेखि सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक समूहको अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियाबाट खरिद गर्न आह्वान गरेको थियो ।

उक्त अवधिमा बिक्री नभएको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर कम्पनीले पुनः लिलाम बिक्री गर्ने भएको हो । लगानीकर्ताले असार २९ गते मंगलबारदेखि श्रावण ५ गते, मंगलबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ, बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामोड, धनुषा, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट, ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १२:३७