२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

संसद विघटन मुद्दामा पक्ष विपक्षको बहस सकियो, एमिकस क्युरीको राय बाँकी

२१ असार, काठमाडौँ। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार सकिएको छ। आइतबारबाट सुरु भएको जवाफी बहस सोमबार सकिएको हो। सोमबार तीन वरिष्ठ अधिवक्ताले बहस गरेपछि जवाफी बहसको समय सकिएको हो ।

सोमबार निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की र शम्भु थापाले बहस गर्नुभयाे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको छ।

अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ। । एमिकस क्युरीका लागि दुई घण्टा समय तोकिएको छ। एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी छन् । एमिकस क्यरीको सुझाब सकिएपछि अन्तिम निर्णय हुनेछ ।

प्रकाशित मिति : July 5, 2021 at 3:08 pm