३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

गल्छी–रसुवागढी सडकका लागि मुआब्जा वितरण सुरू

२८ असार, नुवाकोट । राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ ।

अन्तर्राष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति गर्न सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले जानकारी दिनुभयो ।

जिल्लाका साविक दुईपीपल, रातमाटे र जिलिङ गाविसका जग्गाधनीलाई चालू आर्थिक वर्षमा रु २५ करोड उपलब्ध गराइने छ । उहाँका अनुसार साविकका तीन गाविसका सडकभित्र पर्ने एक हजार ४८१ रोपनी जग्गाका लागि रु चार अर्बभन्दा बढी आवश्यक पर्ने भएकाले बाँकीलाई नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै उपलब्ध गराउने योजना बनाइएको छ ।

“साविक तीन गाविसमा पर्ने जग्गाधनी एक हजार ५७३ मध्ये बुधबारसम्म ७०० भन्दा बढी धनीले मुआब्जा उपलब्ध गराउन जग्गाधनी प्रमाणपत्रसहितको निवदेन कार्यालयमा दिएका छन्”, उहाँले भन्नुभयो, “प्राप्त भएको निवेदनअनुसार प्रशासन कार्यालयमार्फत जग्गधनीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको छ ।”

मुआब्जा निर्धारण समितिले सडक विस्तारका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा बस्ती विकास भएको स्थानको प्रतिआना रु तीन लाख २५ हजार र बस्ती नभएको स्थानको प्रतिआना रु दुई लाख ५० हजार मुआब्जा रकम निर्धारण गरेको छ ।

सडक विस्तारअन्तर्गत गल्छीदेखि स्याफ्रुबेँसीसम्मका लागि मुआब्जा दिन रु १० अर्बभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । ‘गल्छी–रसुवागढी’ सडकले पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने छ । बयासी किलोमिटर दूरीको सडक निर्माणको काम जारी छ । हाल सडक विस्तारको प्रगति २४ प्रतिशत छ ।

प्रकाशित मिति : July 12, 2018 at 6:38 pm