२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रतिनिधिसभा पुनःस्थापना भए देश अस्थिरतामा फस्छः वरिष्ठ अधिवक्ता गुरागाईं

१८ असार, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभा पुनःस्थापनाले देशलाई राजनीतिक अस्थिरताको दलदलमा फसाउने बताउनुभएकाे छ ।

संवैधानिक इजलासमा शुक्रवार ओलीका तर्फबाट बहस गर्दै गुरागाईंले प्रतिनिधि सभा पुनःस्थापना भएपनि निकास दिने सम्भावना विल्कुलै नभएको जिकिर गर्नुभएकाे हाे । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर विश्वासको मत पाउने सम्भावना नै नरहेको समेत उहाँले बताउनुभयाे ।

‘प्रतिनिधिसभा पुनःस्थापना गरेर निकास पाउने सम्भावना नरहेकाले विघटन सदर गर्नुपर्छ । दलभित्रको खिचातानीका कारण अहिलेको संसदीय संरचनाको आधारमा सरकार बन्न सम्भव नै छैन,’ गुरागाईंले भन्नुभयाे, ‘सभामुख एकातिर र सरकार अर्कोतिर भएको बेलामा सभामुखको रुलिङले पनि काम गर्ने अवस्था छैन । हिजो पुनःस्थापित गरिएपनि न अविश्वासको प्रस्ताव आयो न सरकार बन्यो ।’

पुनःस्थापनाले देशलाई राजनीतिक अस्थिरताको दलदलमा फसाउने भएकाले विघटन सदर भए अग्रगामी निकास पाउने उनले दाबी गरे । ‘पुनःस्थापना नभएमा जाने चुनावमा हो, एक वर्षपछि निर्वाचनमा जार्नैपर्ने छ भने निकासका लागि एक वर्षअगाडि जाँदा के फरक पर्छ ?’ उहाँले प्रश्न गर्नुभयाे ।

सर्वोच्चमा सरकारी पक्षबाट बहस गर्ने क्रम आज सकिँदैछ । त्यसप्रति शुक्रवार नै सभामुख अग्नि सापकोटाको तर्फबाट बहस शुरू हुनेछ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको रिटमा असार ९ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १३:५३