३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

१६ असार, काठमाडौँ । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु १४ उल्लेख छ ।

त्यसपछि भाडा बढेको छैन । गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सिट क्षमताको आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो । यस वर्ष दुईमहिने निषेधाज्ञापछि असार १५ गतेदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुला गर्दा यस्तो निर्णय भएको तर सार्वजनिक यातायातका परिचालकले डिजेलको भाउ बढेको भन्दै रु १४ न्यूनतम् भाडाको स्थानमा रु २५ असुल गर्न थालेका छन् । आफूखुशी रु ११ भाडा बढाएर लिएको यात्रु मङ्गलबहादुर तामाङले गुनासो गर्नुभयो ।

गौशालाबाट रत्नपार्क झर्दा रु १४ भाडा लिनुपर्नेमा बढेको छ भन्दै रु २५ लिएको उहाँले सुनाउनुभयो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रि«य महासङ्घले भाडा बढाउन सरकारसँग माग गरेको थियो । तीन वर्षअघि डिजेलको मूल्य रु १०१ हुँदा भाडा समायोजन भएको थियो । यसअघि तेलको भाउ घट्दा सार्वजनिक यातायातको भाडा घटेको छैन ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने विसं २०६९ देखि सार्वजनिक यातायातको भाडा समायोजन नभएको दाबी गर्नुहुन्छ । महासङ्घको मागअनुसार विभागका महानिर्देशकले भाडा समायोजन हुनुपर्ने निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकामा पेश भएको छ । सरकारले समायोजन नगरे व्यवसायीले गरेको गृहकार्यका आधारमा महासङ्घले बढेको घोषणा गर्ने अध्यक्ष कर्माचार्य बताउनुहुन्छ ।

प्रकाशित मिति : June 30, 2021 at 3:16 pm