३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

चितवन जिल्ला मै सुविधा सम्पन्न अस्पताल भएपनि  बिरामीकाे उपचारको गन्तव्य जिल्ला बाहिर

नारायण अधिकारी
२८ असार,चितवन  । उपचारका लागि सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति भएर पनि जिल्लाका बासिन्दा  उपचारमा विश्वस्थ हुन नसकेको पाइएको छ । मेडिकल सिटिका रुपमा भरतपुरलाई चिनाउन चाहे पनि २५ प्रतिशत हाराहारी जिल्लावासीले उपचारको गन्तव्य जिल्ला बाहिर बनाउने गरेका छन् ।

सुविधा सम्पन्न एउटा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, एक केन्द्रीयस्तरको सरकारी अस्पताल, एउटा आँखा अस्पताल र १८ वटा १५ श्ययाभन्दा माथिका निजी अस्पताल भरतपुर महानगरपालिकामा छन् ।

त्यसैगरी उत्कृष्ट सुविधा दिने उद्देश्यले खोलिएका रेडियोलोजी र प्याथोलोजी पनि सञ्चालनमा रहेपनि जिल्लाका बिरामी पूर्णरुपमा सन्तुष्ट भएको पाइँदैन । दैनिक ५० भन्दाबढी एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ जाने गर्दछन् भने चार्टर हेलिकोप्टर, जहाज, निजी सवारी साधन र सार्वजनिक बसबाट पनि बिरामी काठमाडौँ जाने गरेको पाइन्छ ।

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने जिल्लामा उपचार हुन नसकेरभन्दा पनि अन्य विभिन्न कारणले काठमाडौँ बिरामी जाने गरेको बताउनुहुन्छ । काठमाडौँका ठूला भनिएका अस्पतालले यहाँका केही चिकित्सकलाई प्रलोभनमा पारेर बिरामी झिकाउने, हेलिकप्टर कंपनीले कमिसन दिएर दलाल परिचालन गरी बिरामी पठाउने, एम्बुलेन्स चालकको क्षेत्रमा कमिसनको चलखेलका कारण बिरामी काठमाडौँ जान चाहने गरेको उहाँको भनाइ छ ।

नजिकको तीर्थ हेला भएर पनि बिरामी काठमाडौँ जाने गरेको होला भन्दै प्रबन्ध निर्देशक न्यौपाने चिकित्सकले समय दिएर बिरामीलाई उचित परामर्श दिन नसक्दा र कतिपयले रोग लुकाउन चाहेर पनि बिरामी बाहिर जाने गरेको हो भन्नुहुन्छ । चितवन मेडिकल कलेजमा मात्र डिएम र एमसिएच ९विशिष्ट विशेषज्ञता० गरेका १६ जना र जिल्लामा यो संख्या ४० जनाको हाराहारीमा छन् ।

जिल्लामा अंग प्रत्यारोपणवाहेक काठमाडौँमा हुने सबै उत्कृट सेवा यहाँ दिन सकिन्छ तर यहाँकोभन्दा काठमाडौँमा १० गुणासम्म महँगो हुने उहाँको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारी गत वर्ष गरिएको सर्वेक्षणमा एकै दिन ६९ वटा एम्बुलेन्सले जिल्लाबाट बिरामी लिएर काठमाडौँ गएको जानकारी दिनुहुन्छ । बिरामी काठमाडौँ जानुका कारण यहाँका जनताले विगतमा जस्तै यहाँ कमजोर सेवा रहेको ठान्नु, जिल्लामा कहिलेकाहीँ हुने उपचारको समस्यालाई लिएर सधैँ त्यस्तै हुन्छ भन्ने भान पर्नु, जिल्लामा रोग पहिचान भए पनि उपचार गर्ने अन्तिम इच्छा काठमाडौँ राख्नु पनि बिरामीको रोजाइ बाहिर हुने गरेको उहाँ बताउनुहुन्छ ।

अंग प्रत्यारोपण र गम्भीर टाउकाको उपचारबाहेक सबै उपचार जिल्लामा हुने दाबी गर्दै उपाध्यक्ष डा। अधिकारी एउटा चिकित्सक एउटै अस्पतालमा मात्र सीमित नहुनु र चिकित्सकले पनि बिरामीलाई राम्रोसँग रोगका बारेमा बुझाउन नसक्दा पनि बिरामी बाहिरिने गरेकामा जोड दिनुहुन्छ । जिल्लामा उपचार सेवालाई विशिष्टिकरण गर्दै जनतालाई अहिलेको सेवाका बारेमा बुझाउनसकेमा बिरामीको रोजाइ जिल्ला नै हुने र सबै खालका रोग जिल्लामा नै पहिलो पटक भित्रिने गरेकाले अनुसन्धानात्मक प्रयोगशाला पनि यहाँ अवश्यक रहेको उहाँको भनाइ छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविन खड्का जतिसुकैस्तरीय सेवा यहाँ भए पनि मानिसमा उपचारका लागि यहाँभन्दा अन्यत्र राम्रो छ भन्ने भ्रम रहेको बताउनुहुन्छ । निको नहुने रोग देखिएकाले पनि एकपटक काठमाडौँमा परीक्षण गर्न पाए हुन्थ्यो भन्ने भावना राख्ने गरेको पाइएको उहाँहरूकोे भनाइ छ

निजी अस्पताल जिल्ला समन्वय समितिका सचिव विक्रम अधिकारी यहाँ उच्चस्तरको उपचार भए पनि बिरामीमा विश्वासको संकटले गर्दा बाहिरका यहाँ आउने तर यहाँका काठमाडौँ जाने र काठमाडौँका विदेश जाने गरेका र केही हुने खानेले रोग यहाँ पहिचान गराउने तर उपचार भने बाहिर गरउने गरेको बताउनुुहुन्छ ।
यहाँका मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा उपलब्ध गराए पनि कार्डीयोलोजी भास्कुलर एण्ड थोरासिस सर्जरीजस्ता क्याथल्याबको सेवा जिल्लामा नहुँदा पनि बिरामी बाहिरिने गरेको बताइन्छ । तर जिल्लामा छिमेकी जिल्लाबाट ठूलो संख्यामा बिरामी आउने गर्दछन् ।

प्रकाशित मिति : July 12, 2018 at 1:30 pm