३ श्रावण २०८३, आइतबार | Mon Jul 20 2026

युवाको मागलाई सरकारले सम्बोधन गर्दै लगेको छः पूर्वमन्त्री बस्नेत

१५ असार, काठमाडाैँ । नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सरकारले देशको व्यापार घाटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको चर्चा गर्नुभएको छ । मंगलबार भक्तपुरमा राष्ट्रिय युवा संघले अायोजना गरेको रोपाइ विशेष कार्यक्रममा उहाँले विद्यार्थीलाई शैक्षिक, महिला, दलित, जनजातीलाई उद्यमी, विदेशबाट आउनेलाई उद्योगमा लगाउन सहुलियत ऋण सरकारले उपलब्ध गराउदै आएको बताउनुभयो । उहाँले भूकम्पपछि टनेलखेतीदेखि कौशी खेतीसम्म गर्नेलाई अनुदान दिएर सरकारले कृषिमा आत्मनिर्भर बनाउदै लगेको बताउनुभयो ।

अहिले आयतमा ५ प्रतिशत घटेको र निर्यातमा ३५ प्रतिशत बढेको दाबी गर्दै उहाँले उत्पादनलाई उद्योगसंग जोड्दै युवाको मागलाई सरकारले सम्बोधन गर्दै लगेको बताउनुभयो । प्रधानमन्त्री ओली राष्ट्रनायक हुन् भन्दै उहाँले सरकारको विकासको योजना सफल पार्न युवा संघ जोश जाँगर र उर्जाका साथ अगाडि बढेको उहाँको भनाइ थियो ।

कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन बृद्धिमा युवा लागेको चर्चा गर्नुभयो । संघका महासचिव रमेश आचार्य, संघका भक्तपुर अध्यक्ष राजु लुबञ्जारलगायतले युवा संघको भूमिकाकाबारेमा चर्चा गर्नुभयो । कार्यक्रममा नेपाली सिने क्षेत्रदेखि लोकगीत संगीतमा लाग्नेको बाक्लै उपस्थिति थियो । धान दिवसको अवसरमा रोपाई कार्यक्रममा अभिनेत्रीद्धय दीपाश्री निरौला र स्वस्तिमा खड्काको सहभागिता रहेको थियो । त्यस्तै नेपालको एकमात्र अन्तर्राष्ट्रिय रेश्लर भगवती खड्का ‘युनिका’ र रेश्लर अस्मिता जुरेलीको सहभागिता रहेको थियो ।

इन्द्रणी साँस्कृतिक संघको समूहले भने धान रोपाईमा केही रोपाईमा रमाइलो गरेर फर्कियो । इन्द्रेणी साँस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कडेँलसहित छत्र शाही, कल्पना दाहाललगायतका लोक दोहोरीका कलाकारले भने गीत गाउदै रमाउदै धान रोपाईमा सहभागिता जनाएको थिए ।

कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपमेयर जुना बस्नेत, चाँगुनारायण नगरपालिकाको उपप्रमुख विना बाँस्तोला, संघका उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, केन्द्रीय कमिटीका पदाधिकारी तथा संघमा आबद्ध सयौं युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : June 29, 2021 at 7:27 pm