२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

गुल्मपतिहरूलाई सामुहिक भावनाकासाथ काम गर्न महानिरीक्षक खनालको निर्देशन

१३ असार, काठमाडाैँ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २६ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम आईतबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेतलाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

महानिरीक्षक खनालले उक्त तालिम सफलतापूर्वक उत्कृष्ट ढंगबाट सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो । त्यस अवसरमा उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई जिम्मेवारी निर्वाह गर्न सक्ने अनुशासित, कर्तव्यनिष्ठ, नैतिवान, दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनका लागि संगठनले विभिन्न किसिमका यस्ता व्यावसायिक तालिमहरु संचालन गर्दै आईरहेको उल्लेख गर्नहुँदै यस्ता तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई उपयोग गर्दै कार्यक्षेत्रमा खटिदा आफू मातहतकालाई समेत व्यवसायिक बनाई सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुहुँदै कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक प्राप्त जिम्मेवारीका क्षेत्रमा समर्पणभावका साथ उत्कृष्ठ कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र नागरिकको सुरक्षा, सेवा तथा आपद् विपदमा परेकाहरुको उद्वारमा तदारुकताकासाथ खटिई देखाएको कर्तव्यपराणताको विभिन्न स्तरबाट समेत प्रशंसा भएको चर्चा गर्नुहुँदै राष्ट्र र आम नागरिकको सेवा तथा सुरक्षाका खातिर आफ्नो प्राणको समेत आहुती दिएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्नुभयो ।

महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकार पार्न तथा सुशासन बनाई राख्ने कार्यमा शान्ति सुरक्षाको माध्यमबाट आ–आफ्नो ठाउँबाट सबै सशस्त्र प्रहरी कर्मचारीहरुले योगदान पु¥याउनु पर्ने बताउनुभयो । १२ हप्ता अवधिको सिसिएससी तालिम २७ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् भने सो तालिममा सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेत उत्कृष्ट ठहरिएका छन् ।

उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी., सो प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १७:०८