२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रतिनिधिसभा विघटनको रिटः निवेदकतर्फको सुरुवाती बहस आज सकिने

११ असार, काठमाडाैँ । प्रतिनिधिसभा विघटन सम्बन्धी परेका रिट निवेदनमा निवेदकतर्फको सुरुवाती बहस आज सकिने भएको छ । संवैधानिक इजलासले निवेदक पक्षलाई अब बहसका लागि ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएको छ ।

इजलासको आदेश अनुसार निवेदक तर्फका कानुन व्यवसायीलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । आज रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेललाई ३०/३० मिनेटको समय दिइँदै छ ।

यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०/२० मिनेट बहस गर्दैहुनुहुन्छ ।

आज रिट निवेदकको तर्फबाट कानुन व्यवसायीहरुको सुरुवाती बहस सकिएपछि आइतबारदेखि रिट निवेदनको विपक्ष  सरकारी पक्षको बहस सुरु हुनेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ ।

पक्ष र विपक्षी दुवैतर्फका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नोट बुझाएका छन् ।निवेदकको तर्फबाट ३६ जना वरिष्ठ अधिवक्तासहित दुई सय ६२ जनाले बहस नोट पेस गरेका छन् ।

रिट निवेदकको तर्फबाट बहस नोट बुझाएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आग्रहबाट प्रेरित भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन् ।

त्यस्तै, निवेदकको विपक्षी एवम् सरकार पक्षले पनि बहस नोट बुझाएका छन् । उनीहरुले राष्ट्रपतिको निर्णयमाथि न्यायालयमा प्रश्न उठाउन नमिल्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार ०८:२२