६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

प्रकोप पीडित जिल्लामा बागमती सरकारले ५ करोड पठाउने

७ असार, हेटाैँडा । प्रदेश सरकारले बागमती प्रदेशका प्राकृतिक प्रकोप परेका जिल्लाहरुमा ५ करोड दिने दिने भएको छ । सिन्धुपाल्चोक जिल्लाको विभिन्न बाढीका कारण सिर्जित कटान, पटान, डुवान, आवागमन अवरोध लगायतका पूर्वाधारहरूमा भएको क्षतिको तत्काल रोकथाम, नियन्त्रण र मर्मत गरी अवरुद्ध सेवा सुचार गर्न प्रदेश विपद्‍ व्यवस्थापन कोषबाट जिल्ला विपद्‍ व्यवस्थापन समिति, सिन्धुपाल्चोकलाई र १ करोड उपलव्ध गराउने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यतामा आज बसेको प्रदेश बिपद ब्यबस्थापन निर्देशक समितिको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालायबाट मातहतका जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयमार्फत सम्बन्धित जिल्ला विपद् ‍ व्यवस्थापन समितिको सिफारिसमा आकस्मिक विपद्‍ व्यवस्थापन सम्बन्धी कार्य गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोक, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, चितवन र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, रसुवालाई ५०/५० लाख दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पान्डेले जानकारी दिनुभयो ।

यस्तै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटलाई २५/२५ लाख दिने निर्णय भएको छ । त्यसैगरी विपद् प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाई सम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई तथा क्षति भएका सडक,पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत तथा निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढंगबाट उल्लिखित कार्य सम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने पनि समितिले निर्णय गरेको छ ।

गत असार १ गते सिन्धुपाल्चोक जिल्लामा आएको बाढी प्रभावित क्षेत्रमा आगामी मिति असार ९ गतेबाट हेलम्बुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत निर्णय गरिएको छ । शिविर सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैया प्रतिष्ठानलाई उपलव्ध गराउने निर्णय भएको मन्त्री पान्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 21, 2021 at 9:23 pm