२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

विपद् व्यवस्थापनका विषयमा सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीसँग छलफल

६ असार, काठमाडाैँ । गृहमन्त्री खगराज अधिकारीले विपद् व्यवस्थापन, कोभिड १९ रोकथाम तथा न्युनिकरण र शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा मनसुन पूर्वतयारी र यसको व्यवस्थापनको सम्बन्धमा, शान्ति सुरक्षा र कोभिड – १९ को व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि छलफल गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।

छलफलका क्रममा मन्त्रीहरुले विपत प्रतिकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र छिटो उद्धार गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो । प्राप्त सुझावहरुलाई ध्यानमा राखेर प्रभावकारी कार्यान्वयन गर्ने र समन्वयलाई बढाउनेगरी छलफल केन्द्रीत भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री ज्यूहरुले शान्ति, सुरक्षाको सन्दर्भमा, कोभिड व्यवस्थापनको सम्बन्धमा भएका प्रयासहरु र अहिलेको विपत प्रतिकार्य योजना कार्यान्वयनको सन्दर्भमा भएका प्रयासहरुको बारेमा विस्तृत रुपमा छलफल भयो । यो विपतलाई कसरी चुस्त दुरुस्त ढंगले प्रतिकार्यलाई कार्यान्वयनमा ल्याउन सकिन्छ र छिटो उद्धार, राहतमा जुट्न सकिन्छ यो विषयमा ध्यान जानुपर्ने कुरा राख्नुभयो । यस विषयमा प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री ज्यूहरुबाट प्राप्त सुझावलाई ध्यानमा राखेर प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, समन्वयलाई बढाउने भन्ने सन्दर्भमा आजको छलफल केन्द्रीत रहेको थियो ।’

छलफलका क्रममा गृह मन्त्रालयको विपत समन्वय महाशाखा र विपत व्यवस्थापन प्राधिकरणको तर्फबाट विपत व्यवस्थापन र प्रतिकार्य योजनाको सम्बन्धमा प्रस्तुती राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १७:१४