२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सरकारले एसिड पीडितको जीवनभर निःशुल्क उपचार गर्ने

५ असार, काठमाडाैँ । सरकारले एसिड आक्रमण परेका व्यक्तिको उपचार आजिवन निःशुल्क गर्ने भएको छ । ‘एसिड आक्रमणमा परेका पिडीतहरुको उपचार सम्वन्धी कार्यविधि २०७८’ ले तोकिएको स्वास्थ्य संस्थामा कस्मेटिक उपचार बाहेकका अन्य एसिड आक्रमणसम्वन्धी सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च सरकारले बेहोर्ने स्पष्ट पारेको छ ।

कार्यविधिले एसिड पीडीतको उपचार गर्दा लागेको खर्च अस्पताललाई सरकारले सोधभर्ना गर्ने जनाएको छ । कार्यविधिमा एसिडको उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल कीर्तिपुर तोकिएको छ ।

डेडिकेटेड अस्पतालमा मात्रै होइन, त्यहाँ पुग्नु अघि नै अन्य अस्पतालमा प्राथमिक उपचार गरिएको भए पनि त्यसको पनि विल बमोजिम सोध भर्ना गरिदिने भनिएको छ । शुक्रबार सार्वजनिक गरिएको कार्यविधिमा एसिड पीडितहरले आजीवन लगाउनुपर्ने मल्हम हरेक ६ महिनाको लागि डेडिकेटेड अस्पतालहरुले प्रदान गर्नु पर्ने उल्लेख छ ।

यस्तै पीडित अस्पतालमा रहँदासम्म पीडीत र उनीसंगै रहेको एक जना कुरुवालाई दैनिक खानाको लागि २ सय रुपैयाँको दरले प्रति व्यक्ति प्रति दिन तीन पटक गरी उक्त अस्पतालको क्यान्टिनबाट व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख छ । कार्यविधिमा सोधभर्ना सिफारिसका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १९:३५