२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बाढीमा परेर हराइरहेका मेलम्ची आयोजनाका ८ मध्ये २ कामदारको शव भेटियाे

३ असार, काठमाडाैँ । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये २ जनाको शव भेटिएकाे छ । शव भेटिएका दुवैजना उनीहरु दुवै चिनियाँ नागरिक हुन् । प्रमुख जिल्ला अधिकारी अरुण नेपालले बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको जानकारी दिनुभयाे ।

प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा भेटिएको थियाे भने गोगको शव मेलम्ची दोभानभन्दा केही तल फेला परेको थियाे । उनीहरु दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार रहेको पुष्टी भएको छ । सीडीओ नेपालका अनुसार आयोजनाका ७८ कामदारलाई उद्धार गरिएको छ भने अझै ६ जना कामदार सम्पर्कविहीन छन् ।

बाढीमा परेर हेलम्बु गाउँपालिका- १ आम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको हेर्डवक्समा खटिएका २ नेपाली नागरिक, ३ चिनियाँ नागरिक र ३ भारतीय नागरिक सम्पर्कविहीन भएका थिए । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी धुलिखेल र काठमाडौँ अस्पतालमा राखिएको छ । मंगलबार परेको अविरल वर्षाका कारण हेलम्बुको आयोजनाभन्दा माथि पहिरो गएको थियो । पहिरोले नदी थुनिँदा आयोजनाको संरचनामा क्षति पुगेको छ । आयोजना नजिकैको मुहानमा रहेको क्याम्प बाढीले बगाएको थियो भने आयोजनामै कार्यरत कामदारहरु बाढीमा फसेका थिए । बाढीका कारण मेलम्ची बजारको दुईसय भन्दा बढी घरहरु डुबानमा पर्नुको साथै ७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १५:१८