२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सरकारले कर तिर्न असार २५ गतेसम्मको समय दियो

२ असार, काठमाडौँ । सरकारले कर तिर्न असार २५ गतेसम्म समय दिएकाे छ । बुधबार आन्तरिक राजस्व विभागले  एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने समय असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

यसैगरि २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ ।

२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ । सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १७:२७