२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कलाकार निशा घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

१ असार, काठमाडौँ । कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन जानुभएका उहाँ सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उहाँको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ ।

तेइस वर्षीया निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गर्नु भएको थियो । तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल निःशुल्क उपचार शुरुआत गर्नुभयो ।

अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । महाँकाल -४ , ललितपुरका निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्कलन थालिएको छ । कलाकारसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ ।

उहाँलाई अहिले देश तथा विदेशसमेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिनुभयो । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको बताइएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:१५