७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट रुपन्देहीमा बन्दै, प्रधानमन्त्री ओलीद्धारा भर्चुअल शिलान्यास

३० जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्नुभयाे । उहाँले भर्चुअलरूपमा अक्सिजन प्लान्टको शिलान्यास गर्नुभएकाे हाे ।

रुपन्देहीको सिमरहवामा स्थापना हुने यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो ।

शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उहाँले कोभिड १९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयाे ।

‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्रीले भन्नुभयाे । सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयाे ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले जानकारी दिनुभएकाे छ । अक्सिजन प्लान्को स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : June 13, 2021 at 3:12 pm