पूर्वमन्त्री महेश बस्नेतद्वारा नमूना पार्कको शिलान्यास
२९ जेठ, काठमाडाैँ । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित खड्का गाँउमा निर्माण हुन लागेको नमुना पार्कको आज पूर्वमन्त्री एवम् निवर्तमान सांसद महेश बस्नेतले शिलान्यास गर्नुभएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरको रु ५० लाखको लागतमा १५ रोपनी सार्वजनिक क्षेत्रफलमा निर्माण गर्न लागिएको पार्कको उहाँले शिलान्यास गर्नु भएको हो ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्तस्थानमा नमूना पार्क, उद्यमी घर र बृद्धाश्रमसमेत निर्माण गरिने बस्नेतले बताउनुभयो । पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने भए पनि सडक नहुँदा ओझेलमा परेको यो ठाउँमा जाने पहुँच मार्गसँगै पार्क निर्माण गर्ने, उद्यमी घर, बृद्धाश्रम र नजिकै रहेको कुलपूजा गर्ने ठाउँको समेत संरक्षण गरिने उहाँले बताउनुभयो ।
यो ठाउँलाई आन्तरिक र बाह्य पर्यटकको आकर्षकको केन्द्र बनाउने भन्दै रानीकोट खड्कागाउँको विकास, सरकारको रु ४० करोडको लागतमा निर्माण भइरहेको बालकुमारी, बालकोट, चित्रपुर, गुण्डुहुँदै रानीकोट जाने सडकसँगसमेत यसको पहुँच जोडिने भएपछि यो क्षेत्रले मुहार फर्ने उहाँको भनाइ छ ।

निवर्तमान सांसद बस्नेतले स्थानीयवासीको समस्या र गुनासोकोबारेमा चासो दिदै यहाँको प्रत्येक समस्या समाधान गर्दै विकासलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं ४ दधिकोटका वडाध्यक्ष उत्तम थापा, वडा नं ७ गुण्डुका वडाध्यक्ष रबिन्द्र सापकोटालगायतले पार्क निर्माणले हुने स्थानीय विकास एवं उपलब्धीकाबारेमा चर्चा गर्नुभयो ।
त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नं ७ (साबिक गुण्डू गाविस) ९ को कान्छी डाँडाको ५२ रोपनी सार्वजनिक जग्गामा ओैद्योगिक ग्राम निर्माण हुने भएको छ । नेपाल सरकारबाट विनियोजित रु ९२ लाखको बजेटमा बहुवर्षीय उक्त कार्यक्रममा यसवर्ष शुरु भइ अर्को वर्ष पुनः बजेट थप गरी आयोजना सम्पन्न गरिने लक्ष्य रहेको नेता बस्नेतले बताउनु भयो ।
प्रकाशित मिति : June 12, 2021 at 10:45 pm





