१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

बृद्ध भत्ता चोरी प्रकरणः महासंघद्धारा पत्रकारलाई धम्की दिने गाउँपालिका प्रमुखको निन्दा

२९ जेठ, काठमाडाैँ । नेपाल पत्रकार महासंघले वृद्धाभत्ता चोरीको समाचारका विषयलाई लिएर नुवाकोटको पञ्चकन्या गाउँपालिकाका प्रमुख तेजबहादुर तामाङले विज्ञप्ति मार्फत दिएको धम्कीको निन्दा गर्दै कारबाहीको माग गरेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नम्बर २ बाट वृद्भ भत्ताको रकमसहित ५३ लाख चोरी भएको भनिएको थियो ।

महासंघले विज्ञप्तिमा भनेको छ ‘प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रेस विज्ञप्ति निकालेर सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।“

जेठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा उक्त गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको पैसा हराएको सम्बन्धी समाचार प्रकाशित गरेपछि अध्यक्ष तामाङले प्रेस विज्ञप्ति जारी गर्दै ‘कानुनी लगायत अन्य जुनसुकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्दै सोको प्रतिवादको तयारी अवस्थामा रहन चुनौती दिँदै दुवै अनलाईन र पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गरी धम्क्याइएका थिए ।

महासंघले विज्ञप्तिमा भनेको छ ‘प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट धम्की दिनु आफैंमा आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यस्ता धम्कीको कडा भर्त्सना गर्दछ । र, धम्की दिनेमाथि कानुनी कारबाही गर्न तथा पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

प्रकाशित मिति : June 12, 2021 at 9:51 pm