१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पर्यटकलाई पखाला चलाएर ‘फेक रेस्क्यु’ गर्नेलाई कारबाही गराउने मजदुर नेताको चेतवानी

२५ असार, काठमाडौँ । पदयात्रा वा अन्य कुनैपनि समयमा पर्यटकहरुलाई बिरामी गराएर ‘फेक हेलिकप्टर रेस्क्यु’ गरी बीमा असुल गर्ने जो कोहिलाई कारबाहीको दायरामा ल्याउन पर्यटन श्रमिक नेताहरुले पर्यटक घुमाउने श्रमिकहरुलाई निर्देशन दिएका छन् ।

नेपाल पर्यटन बोर्डको प्रायोजनमा तीन ठूला मजदुर संगठन यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको आयोजनामा राजधानीमा सुरु भएको संयुक्त तालिमको उद्घाटन कार्यक्रममा श्रमिक नेताहरुले पयृटन क्षेत्रको बद्नामी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिम नाम दिईएको कार्यक्रमको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीइओ) दीपकराज जोशीले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै सीइओ जोशीले पदयात्रा क्षेत्रमा ‘फेक हेलिकप्टर रेस्क्यु’ र फोहरका कारण दिनप्रतिदिन पर्यटन क्षेत्र खतरामा रहेको भन्दै यसलाई जोगाउन पर्यटन श्रमिकले भूमिका महत्वपूर्ण हुने बताए । आगामि दिनमा पर्यटक दोब्बर पार्न र नेपालमा पर्यटनको अफ सिजन हुँदैन भन्ने बनाउन उनले श्रमिकहरुलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रमा पर्यटकलाई पखाला चलाएर ‘फेक हेलिकप्टर रेस्क्यु’ गर्ने व्यवसायीलाई नसघाउन र त्यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सबै श्रमिकलाई सहयोग गर्न निर्देशन दिए । व्यवसायी नाफामुखी बन्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्र बद्नाम हुन पुगेको भन्दै त्यस्ता व्यवसायीलाई नाङ्गेझार बनाउन थाल्नुपर्ने बताए । उनले श्रमिकको हितमा नभएको टिम्सलाई बन्द गर्नुपर्ने बताए । अध्यक्ष पराजुलीले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने कम्पनीमा ताला लगाईदिन पनि श्रमिकहरुलाई निर्देशन दिए ।

कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दिपेन्द्र पाण्डे (कपिल)ले फेक हेलिकप्टर रेस्क्युको विषय के हो भनी सरकारी धारणा माग गरेका थिए । उनले गलत भएको हो भने व्यवसायीलाई कारबाही गर्न र अन्तर्राष्ट्रिय जगतमा नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छ भन्ने बनाउन सरकारसँग आग्रह गरे । त्यस्तै अखिल नेपाल पर्यटन मजदुर संघका उपाध्यक्ष नाम्गेल शेर्पाले बीच बाटोमा पखाला चलाएर अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको बद्नाम गर्नेलाई खोजी खोजी कारबाही गर्न सरकार पछि पर्न नहुने भनाई राखे ।

कार्यक्रममा यूनिट्राभका महासचिव रामबहादुर श्रेष्ठ, नेपाल पर्यटन श्रमिक संघका महासचिव निरज मिश्र, तालिम संयोजक अशोक शिल्वाल लगायतले पर्यटन क्षेत्रमा श्रमिकले दिने सेवालाई थप सशक्त बनाउन पर्यटन श्रमिकहरुको क्षमता अभिवृद्धि तालिम सुरु गरिएको बताएका थिए । उनीहरुले क्वान्टीटी भन्दापनि क्वालिटी टूरिजमको लागि श्रमिकहरु नै जिम्मेवार बन्नुपर्ने बताएका थिए ।

६ दिने तालिममा देशभरबाट १५० जना पर्यटन श्रमिकहरु सहभागी छन् । तालिममा ३० वटा विभिन्न कक्षा संचालन हुने आयोजक संयुक्त पर्यटन श्रमिक संगठन नेतृत्वले जनाएको छ । कार्यक्रममा पर्यटक सत्कारको संस्कृति, पथ प्रदर्शनको इतिहास, क्राइसिस म्यानेजमेन्ट, प्राथमिक उपचार, हाई अल्टिच्युड सिकनेस, उच्च हिमाली जोखिम, हिमाली मौसम र सुरक्षा, हिमपहिरो, धर्म–संस्कृति, पर्यटन नीति नियम, हेलिकप्टर रेक्यु, फ्लोरा–फाउना, पर्यटनका लागि पर्यटन प्रहरी, पर्यटन श्रमिकको भूमिका, ट्रेड युनियन, गाइडिङ टेक्निक, टुरिजम आइडिया, जर्नी एन्ड जर्नालिजमलगायतका विषयमा प्रशिक्षण दिईने संयोजक शिल्लालले जानकारी दिएका छन् । कार्यक्रमले भ्रमण वर्ष २०२० को लागि दक्ष जनशक्ति निर्माणमा मद्धत पुर्याउने विश्वास लिइएको छ ।

 

प्रकाशित मिति : २५ असार २०७५, सोमबार १५:३४