वीर अस्पतालको प्रमुख पनि म आफैँ हुँः प्रा डा जागेश्वर गाैतम
२१ जेठ, काठमाडाैँ । नेपाल सरकारले कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड १९ संक्रमितको निदान उपचारको लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
यसै व्यवस्था अनुसार काठमाडौंको वीर अस्पताललाई अहिले कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ । अध्यादेशमा भए अनुसार अस्पताल सञ्चालनको लागि एक प्रमुख प्रशासकीय अधिकारी नियुक्त गर्ने व्यवस्था छ । साथै सरकारले प्रोफेसर डा. जागेश्वर गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर पठाएको छ ।
युनिफाइड अस्पताल स्वास्थ्य मन्त्रालय आफैले सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । डा. गौतमलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर वीर अस्पताल पठाएपछि विवाद उत्पन्न भएको छ । डा. गौतम प्रमुख प्रशासकीय अधिकृत भएर वीर अस्पताल गएपछि निमित्त निर्देशकको रुपमा रहनुभएकी डा. शान्ता सापकोटा बिदा बस्नुभएको छ ।
अस्पतालको प्रमुख को हो भन्ने विषयमा दुइथरी मत देखिएपछि विवाद बढेको छ । यसै सन्दर्भमा कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई निमित्त निर्देशक र प्रमुख प्रशासकीय अधिकृत बीचको विवाद के हो भनेर सोधेका छौँ ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वीर अस्पताल युनिफाइड अस्पतालमा रुपान्तरण भइसकेकाले प्रमुख आफै रहेको बताउनुभयो । सरकारले अर्को नियुक्त नगरुञ्जेल अथवा अध्यादेश क्रियाशिल रहुञ्जेल वीर अस्पतालको प्रमुख डा. जागेश्वर गौतम नै रहने बताउनुभयो । सरकारले गरेको निर्णयलाई नमानी विवाद सिर्जना गरेर मिडियाबाजीमा जानु राम्रो नभएको डा. गौतमले बताउनुभयो । निमित्त निर्देशक रहनुभएकी डा. सापकोटाको पद नै अहिले नरहेको भन्दै विवाद नझिक्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति : June 4, 2021 at 8:19 pm





