७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

ललितपुर महानगरपालिकाले काेराेनाबाट निधन भएका व्यक्तिको परिवारलाई १ लाख सहयोग गर्ने

२१ जेठ, काठमाडाैँ । ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड – १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड – १९ संक्रमित भइ उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनुभयो । त्यस्तै आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड – १९ जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरीने उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ । महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि प्रमुख महर्जनले बताउनुभयो । उहाँले महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको पनि बताउनुभयो । वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनस्र्थापना गृहमा एचडीयुसहितको ५० सैय्यको आइसोलेसन सेन्टर र वडा नं. ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० सैय्याको आइसोलेसन सेन्टर मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवसहित सञ्चालन गरीएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 4, 2021 at 4:37 pm