माओवादी नेता वर्षामान पुनलाई कारबाही गर्न प्रेस चाैतारी नेपालको माग
१५ जेठ, काठमाडाैँ । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घ रोल्पा शाखाका संस्थापक सभापति एवं कान्तिपुर दैनिकका पत्रकार काशीराम डाँगीको सामाजिक सञ्जालको प्रयोगबाट चरित्र हत्या भएको विषयमा आपत्ति जनाएको छ ।
चौतारीका कार्यबाहक महासचिव हीरामान लामाले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सामाजिक सञ्जालको प्रयोग गरी डाँगीको चरित्र हत्या गरेको उल्लेख गर्दै सोको विरोध गर्नुभएको हो । रोल्पामा अक्सिजन सिलिण्डर बिक्री वितरण गरेको विषयको समाचारलाई लिएर पूर्वमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट नामै किटेर चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा धम्कीपूर्ण आक्रोश व्यक्त भएको भन्दै चौतारीले निन्दा गरेको छ ।
‘‘मोफसलको पत्रकारिताको विकासका लागि अनवरत रुपमा खटिरहेका डाँगीमाथि भएको योजनाबद्ध हमला कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर मानसिक दबाब दिँदै व्यक्तिगत चरित्र हत्या गर्नेमाथि छानविन गरी कारबाही गर्न माग गर्दछौँ ।’’ विज्ञप्तिमा भनिएको छ । चौतारी उक्त घटनामा महासङ्घको केन्द्रीय नेतृत्व मौन रहेकामा चिन्ता पनि प्रकट गरेको छ ।
प्रकाशित मिति : May 29, 2021 at 7:02 pm





