८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन उपराष्ट्रपतिको ध्यानाकर्षण

१२ जेठ, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवत्र्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उहाँले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उहाँले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याउनुभएको छ । “म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्ने भूमिका निर्वाह गर्न आम दिदीबहिनी तथा दाजुभाइहरुलाई अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।

कोरोना भाइरसको दोस्रो लहरविरुद्ध लड्न र विजय प्राप्त गर्न गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक रहेको बताउँदै उपराष्ट्रपतिले बुद्धका उपदेशलाई आत्मसात् गर्न सकेमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : May 26, 2021 at 10:13 am