अमेरिकाबाट काठमाडौँ आइपुग्यो स्वास्थ्य सामग्री, भोलि १००० अक्सिजन सिलिन्डर आउने
८ जेठ, काठमाडाैँ । कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले नेपालका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप शनिवार काठमाडौं आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले शनिवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो । आज ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।
युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुई दिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई खेप सामान ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : May 22, 2021 at 5:36 pm



