८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

८ जेठ, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको हो । मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चौथो दिनमा कसरी राखिएको छ भन्ने बुझ्न काठमाडौँ उपत्यका तीनै शहरका भक्तजन बुङ्मती आउने चलन रहेको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “करुणामय राखिएको अस्थायी मन्दिरमा बिहानैदेखि स्थानीयवासीले पूजाका साथै दर्र्शन गर्न शुरु गरिसकेका छन् ।” मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरियन्टका कारण यसपटक भने कहाँ–कहाँबाट भक्तजन पूजाका लागि आउँछन् वा आउँदैनन् भन्न टुङ्गो भइनसकेको शाक्यको भनाइ छ ।

आर्यावलोकितेश्वरलाई बुङ्मती लाँदा कुनै बिघ्नबाधा प¥र्याे वा घटना भयो कि भन्ने बुझ्न ठाउँठाउँका मानिस बुङ्मती आउने परम्परा रहेको मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो । मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन त दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनअनुसार गत बुधबार लोकेश्वरलाई ३ बजे खटमा हालेर ५ बजे बुङ्मती पु¥याइएको थियो । यही ५ गतेदेखि सङ्घका पुजारीले दुई–दुई हप्ता पालोका दरमा लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्न थालिसकेका छन् ।

यही जेठ १ गते वृष्टिदेवको रथ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट सुस्तरी सुस्तरी लगभग डेढ सय मिटर पर तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो । यसैगरी वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराउनाका साथै चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान पनि गराइएको थियो ।

गत मङ्सिरमा वृष्टिदेवलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याएर राखिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई हिन्दूका साथै बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ ।

प्रकाशित मिति : May 22, 2021 at 10:21 am