८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैनः महत

४ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको छ । मंगलबार कुरा गर्दै अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको हो । उहाँले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘ फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ । चाडैँ नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो । विश्वासको मत नलिईकन आगामि आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो बिचारमा उचित हुँदैन ।’

सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताउनुभयो । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेट अघिको प्रिबजेट छलफल पनि जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘विधिपूर्वक प्रिबजेटको बारेमा छलफल हुनु जरुरी छ । संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसको आधारमा संसदमा पेश गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन । त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो ।

विश्वासको मत नलिइकन बजेट पेश गर्नुपर्ने अवस्था आयो भने अन्तरिक बजेट÷काम चालउ बजेट पेश गर्ने । राजश्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होईन, कार्यक्रमहरुपनि तलमाथि गर्ने होईन, चालु कार्यक्रमहरुलाई निरन्तरता दिने गर्नुपर्छ ।’ बिगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उहाँले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम÷कामचलाउ बजेट ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : May 18, 2021 at 1:52 pm