८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा दोस्रो पटक कोरोनामुक्त

३ जेठ, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहका सूर्य थापा दोस्रो पटक कोरोनामुक्त हुनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आफू दोस्रो पटक पनि कोरोनामुक्त हुन सफल भएको जानकारी दिनुभयो ।

उहाँले कोरोनोमुक्त भएसँग यस्तो टिप्पणी सार्वजनिक गर्नुभएको छ ।

सम्पूर्ण आदरणीय तथा शुभचिन्तक मित्रहरू !
आज यहाँहरू सबैमा काेराेना संक्रमणलाई दाेस्राेपटक पनि पराजित गरेकाे सुखद जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुशी लागेकाे छ । अघिल्लाे शुक्रबार स्वाव परीक्षण गराउँदा पाेजिटिभ रिपाेर्ट आएकाे जानकारी गराएकाे पनि थिएँ । ताेकिएअनुरूप हाेम आइसाेलेसनमा बसेर दशाैं दिनमा हाम्राे घरभित्र सबैबाट दाेस्राे भेरिएन्ट निस्तेज र परास्त नै भएको छ ।

साेसल मिडियाका वालहरूमा थुप्रै परिचित स्वजनहरू गुमाउनुपरेका जानकारीले आइसाेलेसनमा बस्दा अति नै छट्पटी हुन्थ्याे । अझ हाेनहार युवाहरूकाे प्याट्टप्याट्ट मृत्यु भएकाे देख्दा हाेस हवास नै उडेसरह हुन्थ्याे र रातभरि निद्रासमेत लाग्दाेरहेनछ ! महामारी सामान्य छैन। यसलाई सामन्य अवस्थामा जस्ताे लिएर हेलचक्र्याइ गर्नु अझै मुर्खता हाे ।

अक्सिजनकाे लेभल कम हुनासाथ हेलिकप्टरकै खाेजी गर्ने, सार्वजनिक पदाधिकारीकाे शक्ति जाँच्न खाेज्ने, आफनाे वरिपरि उपलब्ध काेशिश गर्नेभन्दा टेलिफाेन गरेर ज्यान बचाइदिन याचना गर्दै रूने व्यक्तिहरूलाई म स्वयं उहाहरूजस्तै काेराेनासँग जुधिरहेकाे पनि थाहा नहुँदाेरहेछ !

आइसाेलेसनमा सबभन्दा इरिटेड बनाउने पक्षचाहिं तारन्तार बज्ने माेबाइलकाे घण्टी र सामान्य स्थितिमा जस्ताे इन्फर्मेसन र कन्फरमेशनकाे खाेजीमा सक्रिय मित्रजनहरूका कारणले हुँदाेरहेछ ! कतिपयले सार्वजनिक पूर्वसूचनाकाे नै हेक्का नराखी यसाे गर्न रूचाउने र अझ विरामीसँगै स्वास्थ्यस्थितिबारे स्वयंले कुरा गर्न खाेज्ने प्रवृत्तिसमेत देखाउँदा निकै आहत पार्दाेरहेछ! सार्वजनिक जिम्मेवारीमा रहेका हामीजस्ता मान्छेहरूले यस्ताेमा चित्त दुखाएर पनि के गर्नु र ?

काेभिड पाेजिटिभकाे सार्वजनिक जानकारी गराउने भनेकाे मूलत: कन्टयाक्ट ट्रेसिङलाई सजिलाे बनाउन र भेटघाट भएका व्यक्तिहरूलाई सावधानी अपनाउन सहज बनाउन नै थियाे। धेरै मानिससँग भेट हुने हामीजस्तालाई याे बाध्यता हुन्छ । तर यस्ताे जानकाकाे दुरूपयाेग गरेर केही दुष्ट र अपराधिक तत्वहरूले म जिउँदाे मान्छेलाई “रिप” लेख्ने, श्रद्धाञ्जलि भन्ने र मृत्युकाे कामनासमेत गर्ने गरेकाे नीच व्यवहार मैले दुबै पटक भाेगें ।

मुख्यत: खाडी र मलेशियामा बस्दै आएका एवं “युगपुरूष प्रचण्ड” जस्ता ग्रुप, फेक आइडी र नियाेजित रूपमा परिचालित तत्वहरूले यसढंगले मेराे हुर्मत लिने घृणित कार्य गरे । जबकि म आंशिक रूपमा साेसल मिडियाका प्लेटफर्महरूमा उपलब्ध नै रहेकाे थिएँ । खासमा तिनकाे दुर्भाग्य नै भनाैं, दुराशयपूर्ण त्यसखाले इच्छा र चाहना काम लागेनन् र मैले काेराेनालाई फेरि जित्न सकें ।

यस घडीमा सबै आदरणीयजन, शुभेच्छुक र मित्रजनहरूकाे शुभकामनाका निम्ति म विशेष रूपमा कृतज्ञ र आभारी छु ।
अब सबैसँग सावधानीका साथ नियमित काममा भेट हुनेछ ।

अन्त्यमा,
यश क्रममा मन परेकाे एउटा कसैकाे सार्वजनिक सन्देश यहाँ प्रस्तुत गर्न चाहन्छु-
“हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड हो ।
हरेक खोकी अन्य प्रमाणित नभएसम्म कोभिड हो ।
हरेक रुघा अन्य प्रमाणित नभएसम्म कोभिड हो ।
हरेक जिउको थकान अन्य प्रमाणित नभएसम्म कोभिड हो ।
अस्ति पानीमा भिजेको, हिजो दही खाएको, आज बाटोको धुलोले यस्तो भएको भनेर गाउँघर चाहार्दै नहिडौँ । सक्छौँ, उपलब्ध छ भने परीक्षण गराऔँ । छैन घरका परिवारसँग पनि छुट्टै बसौँ । दुई हप्ता सरकारलाई गाली गर्दै हिड्नुको साटो दुई हप्ता घरमै बसाैं, दुई हप्तापछि सरकारलाई धन्यवाद दिन तयार रहाैं !”

प्रकाशित मिति : May 17, 2021 at 12:41 pm