९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

किसानका समस्याहरुमा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

२७ वैशाख, काठमाडौँ । राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले सपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाल सहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा सपथग्रहण गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा.प्रेमप्रसाद दङ्गाललाई सपथग्रहण गराउनु भएको हो । त्यसैगरी अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराउनु भएको थियो । आयोगका रिक्त अध्यक्ष सहित सदस्यहरुको गत वैशाख १९ गतेको मन्त्रीपरिषद्को बैठकले नियुक्त गरेको थियो । योसँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदहरूमा पूर्णता पाएको छ ।

त्यस अवसरमा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर बिस्तुत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशित गर्नुभयो । झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याहरूको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोग समक्ष रहने मन्त्री अर्यालले अपेक्षा व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियम लगायतका कानूनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेशालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी, किसान संघसंगठनरूको दर्ता तथा नियमन लगायतका कार्यहरूमा नेपाल सरकारलाई सल्लाह, सुझाव सहितका कार्यहरू निरन्तर रूपमा अगाडि बढाउन आयोगका पदाधिकारीसँग अपेक्षा व्यक्त गर्नुभयो । कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरहरूको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामाग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजहरूलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाब नेपाल सरकारलाई पेश गर्न उहाँले अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : May 10, 2021 at 2:50 pm