९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बाँकेमा थप आठ काेराेना संक्रमितको मृत्यु

२६ वैशाख, राँझा । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, बढैयाताल–२ बर्दिया निवासी ६५ वर्षीया महिला, दङ्गिशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष, नेपालगञ्ज–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोतव्यक्ति वलीले जानकारी दिनुभयो । योसँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्लाबाहिरका १३६ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : May 9, 2021 at 12:46 pm