दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि आयाे पसिना
२५ वैशाख, काठमाडाैँ । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि पसिना आएको छ । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले शनिबार दिउँसो १२ः१५ बजेदेखि १ः४० सम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको जानकारी दिनुभयाे । दोलखा भीमेश्वरलाई पसिना आएपछि देशमा संकट आउने वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
यसअघि पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको थियो । त्यसअघि २०७६ फागुन ८ गते पसिना आएकाे थियाे । अहिले शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको श्रेष्ठले बताउनुभयाे । दायाँ पट्टीबाट पसिना आउँदा राजकाजमा बसेका र बायाँ पट्टीबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ।
उपाध्यक्ष श्रेष्ठले आइतबार राष्ट्रपति कार्यालयमा महाप्रसाद पठाइने जानकारी दिनुभयाे । त्यसपछि मन्दिरमा क्षमा पूजा गरिने उहाँले जानकारी दिनुभयाे । राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमा पूजाका लागि पञ्चबली पठाउने चलन रहेको थियो।
प्रकाशित मिति : May 8, 2021 at 2:52 pm









