युवा व्यवसायी श्रेष्ठ र मल्लले अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने
२० वैशाख, कञ्चनपुर । कोरोना कहरमा सङ्क्रमितहरु अस्पतालमा अक्सिजन नपाएर मृत्युवरण गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा युवा व्यवयासीले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका छन् ।
यहाँस्थित कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक सुशील श्रेष्ठ र महेन्द्रनगरका युवा व्यवसायी दिनेश मल्लले महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठसित पहिलो चरणमा एक सातासम्म दैनिक ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने सम्झौता गरेका हुन् । सम्झौतामा स्थानीय अक्सिजन सप्लायरसित समन्वय गरेर दुवै पक्षले दैनिकरुपमा सिलिन्डर उपलब्ध गराउने, धनगढी र नेपालगञ्जबाट अक्सिजन ल्याएर श्रेष्ठ र मल्लले अस्पताललाई दिने उल्लेख छ ।
“दैनिक जसो यहाँ सङ्क्रमितहरु अक्सिजन नपाएर छट्पटिएको देखेपछि सामाजिक उत्तरदायित्व सम्झेर अक्सिजन दिने निर्णयमा पुग्यौ”, युवा व्यवसायी मल्लले भन्नुभयो “ यस्तो महामारीका बेला सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर दुखः टार्नु पर्छ”, उहाँले महाकाली अस्पतालमा अक्सिजन नपाएकै कारण पनि सङ्क्रमितको मृत्यु भएको घटना सुनिएको बताउनुभयो ।
“हुनेखानेले हेलिकप्टर चार्टर गरेर पनि सुविधा भएका ठाउँमा उपचार गर्लान”, उहाँले भन्नुभयो “विपन्न समुदायका सङ्क्रमितहरुले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले पनि स्थानीय ठाउँमा सहयोग र सर्मथन गरौँ भन्ने हो ।”
गतवर्ष मल्ल र श्रेष्ठ नेतृत्वमा महेन्द्रनगरका युवा व्यवसायी र व्यापारीहरुको टोलीले भारतबाट कोरोनाको त्रासमा स्वदेश फर्किने नेपालीहरुलाई भोजन र पानीको निःशुल्क व्यवस्थापनसमेत गरेको थियो ।
“त्यो बेला सबै साथीहरुले साथ र सहयोगले १८ हजार नागरिकलाई सिमानामा भोजनको व्यवस्था गरिएको थियो”, उहाँले भन्नुभयो “समस्या पर्दा राज्यको मुख ताक्नुभन्दा पनि समाजमा हातेमालो गरेर काम गर्ने हो ।” उहाँले महामारीको अवस्था हेरेर अस्पताललाई अक्सिजनको आपूर्ति पनि बढाउँदै लगिने जानकारी दिनुभयो ।
त्यसैगरी महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले युवाहरुले देखाएको सहयोगी भावले सङ्क्रमितको स्वास्थ्य उपचारमा सहजस हुने बताउनुभयो । “यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरु स्वास्थ्य सुविधा अपुग हुँदा पनि अहोरात्र सेवामा हुनुहुन्छ”, उहाँले भन्नुभयो “ यस्तो विपत्मा सबैले सहयोग गर्नुपर्छ ।”
प्रकाशित मिति : May 3, 2021 at 6:08 pm



