पिसिआर परीक्षण गर्दा तोकिएभन्दा बढी शुल्क नलिए प्रयोगशालालाई मन्त्रालयकाे आग्रह
१४ वैशाख, काठमाडाैँ । कोरोना संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क बढी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अनुरोध गरेको छ। मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै तोकिएको शुल्कभन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको हो। स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले १ हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ शुल्क तोकेको छ। तर निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो।
त्यसैले, तोकिएको शुल्कमात्रै लिन र त्यसबाहेक थप शुल्क कुनै बहानामा पनि नलिन मन्त्रालयले आग्रह गरेकाे छ। ‘तोकिएको शुल्कभन्दा कुनै पनि बहानामा थप शुल्क नलिन मन्त्रालय सम्बन्धित सबैमा पुनः जानकारी गराउँछ,’मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यदि लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत् त्यस्ता प्रयोगशालाहरूलाई परीक्षणको सूचीबाट हटाइने छ।’

प्रकाशित मिति : April 27, 2021 at 3:42 pm



