१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सरकारको निर्देशन विपरितः फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

-रमेश गिरी 

२८ चैत, भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–९ र १० स्थित पलाँसेमा सञ्चालनमा आएको ‘काठमाडौँ फन भ्याली’ मा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयाँैको भीड लागेको छ । आजदेखि सञ्चालनमा आएको काठमाडौँ फन भ्यालीमा पौडी पोखरीमा डुबुल्की मार्दै लाइभ म्युजिकमा रमाउनेको भीड लागेको हो । सरकारले भीडभाड नगरिदिन अनुरोध गरेको भए पनि फन भ्यालीले शनिबारबाट पुन सञ्चालन गरेको छ ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले शुरुमा चितवनमा सञ्चालनको तयारी गरेको फन भ्यालीलाई आफैँले भक्तपुरमा सञ्चालन गर्न दिएको सुझावका आधारमा यो ठाउँमा शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो फनपार्कले समग्र भक्तपुरको आर्थिक विकासमा टेवा पुर्याउँछ, आन्तरिक पर्यटनको विकास गर्छ, नगरपालिकाको राजश्वमा वृद्धि गर्छ र काठमाडौँवासीलाई मनोरञ्जन गर्ने ठाउँको अभावलाई यसले पूर्ति गर्छ भन्ने मैले विश्वास लिएको छु ।”

नजिकै रहेको कैलाश महादेव र उपत्यकाकै लामो झोलुङ्गे पुलसँगै फनपार्क सञ्चालनमा आउँदा विगतमा विकासमा ओझेल परेको यो क्षेत्र अहिले विकासका पूर्वाधार निर्माणदेखि आर्थिक विकासमा समेत फड्को मार्न सफल भएको बताउनुभयो ।

भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटनको विकास, आर्थिक विकाससँगै काठमाडौँ उपत्यकाका बासिन्दालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा सञ्चालनमा आएको बताउनुभयो । डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फनपार्कमा ३० जना स्थानीयवासीलाई प्रत्यक्ष रोजगारी दिँदै नयाँ वर्ष २०७८ को अवसर पारेर सञ्चालन ल्याउने भएको हो ।

कर्णाली म्युजियम (सङ्ग्रहालय) यहाँको अर्को मुख्य आकर्षण हो । कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित र व्यवस्थित रहेको भन्दै उहाँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बन्ने बताउनुभयो ।

सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा सञ्चालित फनपार्कले जल र स्थल गरी ११ वटा विभिन्न खेल खेल्न पाउने र उमेरअनुसारको तीनवटा पौडी पोखरीको व्यवस्था छ । मुम्बईको ‘वाटर किङडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट त्यस्तै फनपार्क सञ्चालनमा ल्याउने उद्देश्यअनुरुप ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा करिब तीन हजार जनाले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

आन्तरिक पर्यटक भित्र्याई जिल्लामा पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित पार्कमा वाटरपार्क, एम्युजमेन्टपार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, पार्कमा रोटेपिङ शैलीको हेलिकोप्टर, ४० फिट उचाइको ह्वीलचियर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ ।

अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । त्यस्तै ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने रुफटपसहितको रेष्टुरेन्टको समेत यहाँ व्यवस्था छ । रासस

प्रकाशित मिति : April 10, 2021 at 7:28 pm