मन्त्री आलेद्वारा बाघको आक्रमणबाट मृत्यु भएका कर्मचारीप्रति गहिरो दुःख व्यक्त
२२ चैत, काठमाडाैँ । वन तथा वातावरणमन्त्री पे्रमबहादुर आलेले बाघको आक्रमणबाट मृत्यु भएका कर्मचारीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति प्रकाशित गरी मृतात्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गर्नुभएको छ ।
मृतकका घरपरिवारलाई मन्त्रालयका तर्फबाट न्यायोचित क्षतिपूर्तिको समेत व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री आलेले गैँडा गणनालगायत निकुञ्जको सुरक्षामा खटिने कर्मचारी, गणकहरूले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै कामका खटिनसमेत आग्रह गर्नुभएको छ । आज गैँडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारूको बाघले आक्रमणबाट मृत्यु भएको थियो । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भइसकेको छ ।

यसैगरी, गैँडा गणनाकै क्रममा यही चैत २० गते नवलपरासी (सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजीकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँचजना घाइते भएका थिए । घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको र उहाँको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : April 4, 2021 at 10:09 pm



