१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ

१८ चैत, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पदको शपथ गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराउनुभयो ।

समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेशप्रमुख पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गर्नुभएको थियो । डडेलधुरा जिल्लाको अजयमेरु–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलाली जिल्लाको प्रजिअ हुनुहुन्थ्यो ।

यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुनुहुन्छ । नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : March 31, 2021 at 1:11 pm