११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि खुशी

२ चैत, डोटी । जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन् ।

बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पुर्याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष कमलबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि यहाँका स्थानीयवासी खुशी भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष योजनाअन्र्तगत प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअनुसार बोगटान फुडसिल तथा सायलको केन्द्रसम्म सडक कालोपत्र गरिने बताइएको छ ।

उक्त गाउँपालिका केन्द्रसम्म सडक पुर्याउनका लागि समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश र प्रदेश सरकारका तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले हस्ताक्षर गर्नुभएको बोगटान फुडसिलका उपाध्यक्ष भगवती बमले जानकारी दिनुभयो ।

दिपायल राजपुरदेखि केआइसिंह गाउँपालिका केन्द्र वायलसम्म सडक कालोपत्रको काम जारी छ । यसैगरी वायलबाट टुँडागाडसम्म प्रदेश सरकारले सडक कालोपत्र गर्ने तथा गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने योजनानुसार अब काम अघि बढ्ने जनाइएको छ । यसैगरी आदर्श तथा सायल गाउँपालिका केन्द्रसम्म कालोपत्र सडक पुग्ने भएपछि स्थानीयवासीमा खुशीयाली छाएको नेकपा (माओवादी केन्द्र) का नेता तेज डुम्रेलले बताउनुभयो ।

कालोपत्र सडकसँग जोडिन बाँकी रहेका स्थानीय तहलाई सडकसँग जोड्ने नीतिअनुरूप सरकारले आइतबार एकमुष्ट देशभरका २१० स्थानीय तहसँग उक्त सम्झौता गरेको थियोे । दिपायल सिलगढी तथा शिखर नगरपालिका केन्द्रसम्म भने यसअघि नै सडक कालोपत्र भइसकेको छ भने जोरायल, केआइसिंह तथा बडिकेदार गाउँपालिका केन्द्रमा कालोपत्र गर्ने तयारी छ ।

प्रकाशित मिति : March 15, 2021 at 3:46 pm