११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

यस्ता छन हनुमानढोकामा रहेका प्राचीन गरगहना (भिडियोसहित)

२ चैत, काठमाडाैँ । हनुमानढोका दरबार क्षेत्रको ढुकुटी भवनमा प्राचीन एवं मौलिक स्वरुपका गरगहना प्रदर्शनी शुरु भएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको १० औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आइतबार प्रदर्शनी उद्घाटन गर्नुभएको हो ।

विसं २०६८ असार १३ गते हनुमानढोका दरबारस्थित न्हुच्छे चोक र फरासखानाबीचको भवन जीर्णोद्धार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्री फलामको सेफमा पुरिएको अवस्थामा प्राप्त भएको थियो । यसरी पाइएको सामग्रीमध्ये केही छनोट गरेर आजदेखि प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीमा धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग गरिने देवदेवीका मूर्ति, सुन, चाँदी तथा तामाका गरगहना, सुन चाँदीका सिक्का, इष्ट इण्डिया कम्पनीले जारी गरेका अत्यन्त दुर्लभ सुनका सिक्का, प्राचिन कालका नापतौलका सामग्री, राज्यभिषेक समारोहमा हात्तीको शिरमा सजाइने चाँदीको चन्द्र कलश प्रदर्शनमा छन् । यसैगरी भगवान् श्रीकृष्णलाई चढाउने सुन तथा चाँदीका बहुमूल्य मुकुटलगाययत पनि प्रदर्शनीमा राखिएको समितिका कार्यकारी निर्देशक सञ्जीव खनालले जानकारी दिनुभयो ।

लामो समयदेखि भण्डार गृहमा थन्किएका यस्ता सामग्री प्रदर्शनीमा राख्नाले त्यसबेलाको कला, धर्म, संस्कृतिबारे आममानिसले जानकारी पाउन् भन्ने उद्देश्य रहेको समितिले जनाएको छ । पहिले प्रयोग भएर अहिले लोप भएका यस्ता सामग्रीलाई पुनर्जागृत गर्न पनि प्रदर्शनीले सहयोग पुग्नेछ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री ढकालले कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै गत वर्ष जारी भएको बन्दाबन्दीका कारण पर्यटन क्षेत्र धराशायी बनेको बताउनुभयो । कोरोना जोखिम कम भएको र खोपसमेत शुरु भइसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई खुकुलो बनाएर पर्यटन क्षेत्रलाई अघि बढाउन लागिएको उहाँले सुनाउनुभयो ।

“पशुपतिनाथ मन्दिरमा माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण एवं पूजा आराधना गर्नुभएपछि सुनको जलहरी राख्न निर्देशन भयो, तयारी गरेर फागुन १२ गते दुई बजेसम्ममा राखियो, तीन बजे सर्वोच्च अदालतले नराख्नू भनी आदेश जारी ग¥यो, चाँदीको जलहरी जीर्ण भएर पशुपतिनाथको गर्भगृहसम्म असर गर्न थालिसकेकाले सुनको जलहरी राखिएको हो”, मन्त्री ढकालले भन्नुभयो ।

मन्त्रालयका सचिव एवं समितिका अध्यक्ष यादवप्रसाद कोइरालाले सांस्कृतिक सम्पदाको संरक्षणले इतिहासलाई पछिसम्म जीवन्त राख्न मद्दत गर्ने भएकाले यस्ता चीजको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । सम्पदालाई अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गरिनुपर्ने उहाँको भनाइ थियो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हनुमानढोका दरबार क्षेत्रको आगम्छे घरलाई पुनःनिर्माणका लागि सहमति जुटेको बताउनुभयो । गद्दी बैठक पनि छिट्टै सर्वसाधारणका लागि प्रदर्शनमा ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री ढकालले डा महेशराज पन्तले लेख्नुभएको ‘हनुमानढोका दरबार मनमोहनचोकको दलानको शिलापट्ट र त्यहाँका शिलामूर्ति’ र डा जुनु वासुकला रञ्जितकारले लेख्नुभएको ‘हनुमानढोका दरबारका भित्तिचित्र’ पुस्तक विमोचनसमेत गर्नुभयो ।

प्रकाशित मिति : March 15, 2021 at 7:45 am