११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

लोग्शरीसहित तीन पत्रकारलाई ‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’

५ फागुन, काठमाडाैँ । यस वर्षको ‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ तीनजना क्रियाशील पत्रकारलाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा पत्रकार लोग्शरी कुँवर, गणेश लम्साल र कमला पाख्रिन रहेका छन् । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनका अवसरमा फागुन ५ गते काठमाडौंमा आयोजित कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो ।

लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार र आलेख प्रकाशन/प्रसारण गरी पत्रकारिता गरिरहेका पत्रकारलाई यो पुरस्कार प्रदान गरिदै आएको नेपाल पत्रकार महासंघले जनाएको छ । पुरस्कारको राशि जनही ४० हजार रहेको छ ।

यस्तै यस वर्षको ‘कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार’ महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपैयाँ छ । त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राई तथा ‘कृष्णसेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार’ दलित पत्रकार सङ्घका अध्यक्ष पहाडीलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु जनही ५० हजार छ ।

प्रकाशित मिति : February 17, 2021 at 2:54 pm