११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुशी

३० माघ, डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुशी भएका छन् । कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा कार्यालयले अहिले घरैमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि उनीहरू खुशी भएका हुन् । गाउँपालिकाको छवटै वडाका ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने निर्देशन दिइएको छ ।

गाउँपालिकाभर कम्तिमा तीन हजारको सङ्ख्यामा सामाजिक सरक्षा, एकल तथा वृद्ध भत्ता पाउने नागरिक छन् । वृद्ध उमेर तथा कोरोना कहरले घरबाट बाहिर निस्किन नसकेका तथा वडा कार्यालयमा आउँदा जाँदा दिनभरी हिड्न बाध्य हुने ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिन थालिएपछि यहाँका ज्येष्ठ तथा एकल महिलामा खुशियाली छाएको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीय चक्रबहादुर बोहराले बताउनुभयो ।

फाइल फोटो ।

घरैमा आएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि आफूहरूलाई निकै राहत भएको वडा नं ५ गड्सेराकी ७५ वर्षीया महिला सञ्जा पातलीले बताउनुभयो । उहाँ जस्तै सहाराविहीन भएका एकल महिला, वृद्धवृद्धालाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता घरैमा पाउन थालेपछि निकै खुशी हुँदै धन्यवादसमेत दिन थालेका छन् । कोरोना जोखिमबाट जोगिन सम्पूर्ण सावधानी अपनाउँदै यहाँका जनप्रतिनिधि, कर्मचारीसहित आफैँ खटिएर भत्ता वितरण गर्दै आउनु भएको छ ।

वडाभरीमा रहेका सामाजिक सुरक्षा भत्ता पाउँदै आएका वडावासीलाई रकम अभावमा समस्या भएको जानकारी आएपछि घरैमा सामाजिक सुरक्षा भत्ता वितरण गरिन थालिएको वडा नं ५ को कार्यालय गड्सेराले जनाएको छ । जिल्लासहित उक्त वडाभरीमा कारोना जोखिम कायमै रहेका उक्त वडाका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर सामाजिक सुरक्षा भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम चालेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो ।

वडाध्यक्ष देउवाले घरमै आएर वृद्ध तथा एकल महिला भत्ता दिन थालेपछि सो वडाका ज्येष्ठ नागरिकलाई दुःख हट्नुका साथै सहयोगसमेत मिलेको र वडाध्यक्ष देउवालाई धन्यवादसमेत दिन थालेको स्थानीयवासी तथा महेन्द्र आधारभूत निमाविका शिक्षक प्रकाश रावलले बताउनुभयो । उक्त वडामा मात्रै कम्तीमा पनि ८०० जनाको हाराहारीमा सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति रहेको बताइएको छ ।

प्रकाशित मिति : February 12, 2021 at 10:09 pm