चक्रपथ सडक विस्तारमा अनुचित माग र अर्घल्याई स्विकार्य हुन्नः उपप्रधानमन्त्री पोखरेल
७ माघ, काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आयोजना गर्नुभएकाे काठमाडौँ चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहविचको समन्वयात्मक बैठक आज सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न भयो । बैठकमा काठमाडौँ चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र बाटो विस्तारका क्रममा देखापरेका चुनौति र त्यसको समाधानका निम्ती भैरहेको प्रयासका बारेमा सवै पक्षका विचमा छलफल भएको थियो ।
कलंकी देखि धोबीखोला सम्मको कुल ११.६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगञ्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौँ महानगर, सड्क क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारीलगायतका पदाधिकारीहरुलाई दोस्रो पटक बोलाएर छलफल गर्नुभएको हो । सवैपक्षको कुरा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले सडक विस्तारका क्रममा अनुचित माग र अर्घल्याई स्विकार्य नहुने बताउनुभयो । सम्वद्ध पक्षलाई अनुचित कुराको पछि नलाग्न निर्देशन दिदैं उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सवै निकाय विच समन्वय गरेर अघि बढ्न निर्देशन गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउदैं लैजानुुपर्ने वताउनुभयो । त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राज्यको नीतिमा सवैको आपसी अपनत्व आवश्यक भएको बताउनुभयो । छलफलमा काठमाडौँ महानगरपालिकाका वडा नंं ३ का अध्यक्ष दिपक केसी, वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल, पुरातत्व विभागका प्रतिनिधि, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, नापी विभागका अधिकारीले आ आफ्नो क्षेत्रमा देखा परेका समस्या र समाधानका निम्ती भैरहेको पहलका वारेमा जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति : January 20, 2021 at 11:24 am



