२४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026

माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

६ माघ, सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ । आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् ।

ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो । गाउँपालिकाले निजी तथा सामुदायिक ती विद्यालयका लागि स्यानिटाइजर उपलब्ध गराउने भएको छ भने मास्क स्वयं विद्यार्थीले आफ्नै खर्चमा लगाएर विद्यालय उपस्थित हुनुपर्ने जनाएको छ ।

सांकेतिक तस्विर

यसभन्दा अगाडि गाउँपालिकाले गत कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गरेर एक हप्तासम्म पठनपाठन गरेको भए पनि उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय याल्वाङमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि बन्द गरिएको थियो । जिल्लामाा फागुन पहिलो सातामा नयाँ शैक्षिक सत्र शुरु भई मङ्सिरमा वार्षिक परीक्षा भएर हिउँदे तीन महिना बिदा हुने गर्दथ्यो ।

विद्यार्थीको पढाइमा बाधा पुगेपछि १५ दिन अगाडि नै विद्यालय सञ्चालन गरिने भएको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लाका अन्य गाउँपालिकाका विद्यालय कोरोना त्रासले बन्द रहेका छन् । जिल्लामा हालसम्म ९१ मा कोरोना सङ्क्रमण देखिएको थियो ती मध्ये ९० निको भएर घर फिर्ता भइसकेका जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : January 19, 2021 at 10:34 am