१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौ बंगलादेश सिधा बस सेवा सुरु हुदैँ

३ माघ, काठमाण्डौ । बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले नेपाल र वंगलादेश विच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात हवाई सडक सम्बन्ध बढाउने काम भइरहेको बताएका छन्।

नेपाल बंगलादेश मैत्री संघको आयोजनामा नेपाल बंगलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा काठमाडौँ– ढाका बस सेवा सुरु गरिन लागेको बताए । त्यसैगरी विराटनगर–बंगलादेश हवाई सेवा चाँडै सुरु गरिने पनि जानकारी दिए ।

बंगलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिए।

प्राडा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गरे। डा इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताए। डा शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिए।

मैत्री संघका अध्यक्ष दीनदया रिजाल र संघका बंगलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिए।

संघका सल्लाहकार धर्मराज बरालले एकअर्काले आआफ्ना धर्म, कला र संस्कृतिको सम्मान गर्नुपर्ने विचार व्यक्त गरे। बिहीबार साँझ भएको बैठकमा साहित्यकार तथा समाजसेवी भक्तराज रञ्जितले साहित्य एवं कलाको आदानप्रदान गर्दै दुवै देशका जनता जागृत भई लाग्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : January 17, 2021 at 12:39 pm